कोरोना परीक्षण र संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने सरकारको निर्णय

कात्तिक २५, काठमाडौं – सरकारले सरकारी अस्पतालबाट कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । अब डेडिकेटेड अस्पताल तथा ल्याबहरुमा यो निर्णय लागू हुने बैठकले निष्कर्ष निकालेको छ ।  केही समय अघि सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैंले गर्नुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पश्चात् सरकारको चर्को आलोचना भएको थियो । अझै कतिपय निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्चको दररेट नै सार्वजनिक गरेका थिए ।

यस्तै सर्वोच्च अदालतले पनि असोज १५ गते कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सर्वोच्चको यो आदेश आएसँगै सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन खारेजभएसँगै सरकारले यो निर्णय गरेको हो । यसअघि सरकारले कोरोना परीक्षणका लागि २ हजार रुपैयाँ शुल्क तोकेको थियो ।