संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

कात्तिक २४, काठमाडौँ – राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्दछ । तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया शुरू गरेकी छैनिन् । मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिएकी छैनिन् ।

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ ।

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेष गरी यस बर्ष चुनौती बढी छ किनकि बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ ।

“अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नु पर्दछ,” बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताएका छन् ।

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई “चुनाव पछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन” आग्रह गरेको छ ।

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चाल्नु भएको छ ।

बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्ने छन् । अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ । बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दै छन् जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ ।

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसक्नु भएको छ ।

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्ने छन् जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू । रासस–एपी