जुत्ता सिलाउने दम्पतिको सर्घषको कथा

बाँके – हरेक मानिसका बेग्लाबेग्लै कथा छन । कसैका दुःखका हुन्छन् त कसैका सुखका । कोही दुखसंग हार्छन् त कोही जितेर सुखमय जीवन बिताइरहेका हुन्छन् । खासमा दुःख र सुखको मिलन नै जीवन हो । यस्तै एक जीवन भोगेका छन्, धनसिंह सार्कीले ।

यस्तै यस्तै आरेह अवरोहमा बालापन, किशोरापन, युवाअवस्था गुजारेका सार्की अहिले भने बुढेसकालको वोझिलो भारी तत्रिरहेका छन । उनको बुढेसकालको साहारा छिन्, उनकी जीवन संगिनी मन्धुरी सार्की । उमेर उनीहरुको दुई वर्षको मात्रै अन्तर छ । धनसिंह ६० लागे, मन्धुरीको उमेर ६२ वर्ष भयो । तर विगत १२ वर्षदेखि उनीहरु दैनिक रुपमा आफ्नो जुत्ता पसलमा रमाइरहेका छन् । यो उनीहरुको आम्दानीको स्रोत समेत हो । नेपालगञ्ज–कोहलपुर सडक खण्डको त्रिभूवन नमूना माद्यमिक विद्यालय नजिकै रहेको अस्थायी प्रहरी चौकीछेउ नजिकै छ उनीहरुको पसल । मुख्य सडकदेखि १० मिटरको सडक छेउ मै रहेको ‘सुर्खेती जुत्ता चप्पल मर्मत सेन्टर’ सार्की दम्पतिको हो । मन्धुरी भन्छिन्, ‘यस्तो काम गर्न थाल्याको धेरै भयो । जति बेला यहाँ आएका थियौँ । त्यति नै भयो ।’ १२ वर्ष अघि सुर्खेतको मटेलाबाट कोहलपुर झरेका थिए । केही वर्षपछि बसाइँसराइँ गरेर यतै स्थायी रुपमा बस्न थाले ।

‘यहाँ आएपछि आम्दानीको स्रोत थिएन । जुत्ता सिलाउने काम शुरु गरे । धेरै वर्ष यहाँका सडकमा बसेर जुत्ता सिलायौ । अहिले सटर भाडामा लिएर जुत्ता मर्मत गर्छौ ।’ धनसिंह भन्छन् । उनीहरु आठ छोराछोरीका आमाबाबा समेत हुन् । उनीहरुका तीन छोरा र पाँच छोरी छन । ती सबैलाई दुवैले कहिले घट्ट चलाएर त कहिले सडक छेउमा जुत्ता सिलाएर हुर्काए बढाए । उनका अनुसार कान्छि छोरी यो भदौमा २० वर्ष लागिन् । आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत नै यही काम भएको उनले बताए । सुर्खेतमा हुँदा उनीहरु बाँच्न कै लागि घट्ट चलाउँथे । अहिले बाँकेमा जुत्ता चप्पल मर्मत गरेर जिविकोपार्जन गरिरहेका छन् । योे पेसा यी बृद्ध दम्पतिमा मात्रै सीमित छैन् । धनसिंहका जेठो छोरा बैजनाथ सम्झना बजारमा जुत्ता चप्पल मर्मत गर्ने काम गर्छन् । महिलो छोरा भारतमा मजदुरी गर्छन्। सहिलो छोरा भने वैदेशिक रोजगारीमा छन् । चार जना छोरीले विवाह गरिसके ।

अहिले उनीहरुसँग कान्छि छोरी मात्रै छिन् । उनीहरुको बुढेसकालको सहारा उनै हुन् । मन्धुरी भन्छन्, ‘सबै केटाकेटी आफ्नो खुट्टामा उभिएका छन् । हामी बुढाबुढी यहाँ दुःख गरिरहेका छौ । वुढो शरिर थकाई लाग्छ । काम गर्न मन लाग्दैन । तर, के गर्ने बाँच्नै प¥यो ।’ यो उनको रहर होइन बाध्यता हो । उनका श्रीमान थप्छन्,‘बुढेसकालामा दुःख गर्ने रहर कसलाई हुन्छ । भोको पेट पाल्न यस्तो काम गरिरहेका छौ । हेरौ कहिले सम्म सकिन्छ काम गरौला ।’ उनले मलिन स्वरमा अगाडी थपे,‘हजारौ फाटेका जुत्ता सिलायौं तर हाम्रो फाटेको कर्म सिलाइदिने कोही भएन।’