चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

कात्तिक ६, काठमाडौ – चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न खोटाङको रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ ।

हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो ।

गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु ७००, राँगाको मासु ३५०, सुँगुरको मासु २४०, ब्रोइलर कुखुराको मासु ३००, गिरिराज कुखुराको मासु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य ५०० निर्धारण गरेको छ । यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो)१००, स्थानीय जातकै (छोटो) ७५, वर्षे धानको चामल ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल ७५, सोना मन्सुली चामल ५० र कान्छी मन्सुली चामलको मूल्य ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्रतिकेजी स्थानीय जातको कालो दाल १५०, सेतो मास १००, मुसुरी दाल १४०, प्रतिलिटर तोरीको खाने तेल १९०, सूर्यमुखी तेल १८०, प्रतिकेजी आयोडिनयुक्त नुन ३० र ढिके नुनको मूल्य २० निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीले कालोबजारी शुरु गरेको गुनासो आएका छन् । जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यदि कोहीकसैले कुनै पनि बहानामा कालोबजारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० नं हटलाइन सेवामा फोन गर्नसमेत जिल्लावासीमा आग्रह गरिएको प्रजिअ पौडेलले बताए ।