सप्तरीमा हत्याका तीन जना आरोपित पक्राउ

 

असोज २७, सप्तरी  – सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको असोज १० गते हत्या भएको थियो । पक्राउ परेका मध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए। “बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ”, उनले भने, “उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार मृतक महिलाकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ । अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको दुई बिघा जग्गा अजय यादवको बुबाले ०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रतिवादी बमबहादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय भुक्तान गरी दुई वर्ष अघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको समेत देखिएको प्रहरीको भनाइ छ ।रासस