आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

असोज २०,काठमाण्डौ – तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

डाक्टर केसी अनसन बसेको २३ दिन भइसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेकाले बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो ।

संघले डाक्टर केसीसँग वार्ता गर्नको लागि टोली गठनको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । बहिरंग सेवा बहिष्कार गरेपनि काेराेना, आकस्मिक र भर्ना भएका बिरामीको उपचारमा भने कालोपट्टि बाँधेर सामेल हुने उहाँको भनाइ छ । संघले डाक्टर केसी अनसन बसेको १३ औं दिनदेखि कालोपट्टि बाँधेर काम गरिरहेको छ ।