शिक्षा मन्त्रालयका प्रवक्ता भन्छन्, ‘तत्काल विद्यालय खोल्न सम्भव छैन’

काठमाडौ – लामो समयको कोरोना कहरका कारण देशभरका शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् । अझै कहिले सम्म विद्यालयहरु वन्द हुने हुन्, त्यसको कुनै टुंगो छैन । करिब सात महिनायता देशभरका लाखौँ विद्यार्थी घर बस्न बाध्य छन् । यस अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने बताएको थियो । तर त्यो सम्पन्न हुन सकेन । नेपालमा कोरोना कहर बढिरहेकोले अझै विद्यालय कहिले खुल्छ भन्ने कुरा मन्त्रालयले समेत भन्न सकिरहेको अवस्था छैन । दशै, तिहार पछि विद्यालय खुल्न सक्ने सम्भावना रहेपनि ठ्याक्कै भन्न सकिने अवस्था छैन । कोरोनाका कारण देशको शिक्षा क्षेत्रमा परेको प्रभाव, विद्यालय सञ्चालन बारेमा मन्त्रालयको तयारी तथा अन्य समसामयिक विषयमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मासँग इमेल खबरले गरेको कुराकानी –

कोरोना कहर छ शैक्षिक संस्था सञ्चालनको सम्भावना कत्तिको छ ?

विश्व नै कोरोना महामारीको कहरको अवस्थामा छ । नेपालमा त दैनिक कोरोना संक्रमण बढिरहेको अवस्था छ । कोरोनाले हरेक क्षेत्रमा असर गरेको छ । ती क्षेत्र मध्ये शिक्षा क्षेत्र समेत एक हो । सात महिनायता विद्यालयहरु पूर्णरुपमा बन्द छन् । विद्यार्थीहरु पनि घर थन्किनु परेको अवस्था छ । शिक्षकहरु समेत कामविहीन भइरहेका छन् । सरकार कोरोना विरुद्धको अभियानमा लडिरहेको छ । शिक्षा मन्त्रालय समेत यस बीचमा सक्रिय रुपमा कोरोना महामारीको प्रतिरक्षामा लागिपरेको छ । विद्यार्थीको भविश्यसँग जोडिएको शैक्षिक क्षेत्रले निकै क्षति बेहोर्नु परेको छ । जहाँसम्म तपाईले विद्यालय कहिले खुल्छन् भन्ने प्रश्न गर्नु भयो । यो आफैमा अनुत्तरित प्रश्न हो । कहिले खुल्ने भन्ने एकिन गर्न सक्ने अवस्था छैन । मलाई लाग्छ विद्यालय दशै तिहार पछि सम्म विद्यालय खुल्ने अत्यन्तै न्युन सम्भावना छ

कतिपय विद्यालयमा अनलाइन कक्षा पनि सञ्चालन भएका छन्, यो कत्तिको प्रभावकारी देखिएको छ ?

अनलाइन कक्षा प्रत्यक्ष पढेको भन्दा पक्कै पनि प्रभावकारी बन्दैन । तर सरकारले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरेको हो । तर यो देशभर सबै भूगोलमा यो सम्भव देखिएन । अनलाइन कक्षाको फाइदा केही सुगम जिल्लाका विद्यार्थीहरुले मात्रै लिन पाए । दुर्गम क्षेत्रमा यो सम्भव भएन । तर अनलाइन कक्षा एउटा उपाय थियो । समग्रमा यो कक्षा प्रभावकारी देखिएको छैन ।

अनि दुर्गमका विद्यार्थीहरुको लागि मन्त्रालयले के प्रयास गरेको छ नी ?

यो बेलामा मन्त्री स्तरीय बैठकमा धेरै निर्णय भएका छन् । दुर्गम जिल्लाई केन्द्रीत गरेर बनाइएका नियम कार्यान्वयनमा समस्या देखिएको छ । यसमा मन्त्रालयले धेरै प्रयास गरेको छ । सबैलाई आफ्नो क्षेत्रको भूगोल र अवस्थिति अनुसार क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिइएको छ । अहिले पनि हेर्नु हुन्छ भने कर्णालीका दुर्गम क्षेत्रका केही जिल्लमा विद्यालय खुलेको अवस्था छ । डोल्पा लगायतका जिल्लाहरुमा विद्यालय सञ्चालनमा छन् । त्यहाँ सरसफाई र सुरक्षालाई मजबुत गराइएको छ । तर कोरोना कहर बाँकी रहेका जिल्लामा भने त्यो सम्भव हुन सकेको छैन । आधा शैक्षिक सत्र सकिसकेको अवस्था छ । त्यसैले सकभर छिटो भन्दा छिटो विद्यालय सञ्चालनको लागि कोरोना बाधक बनिरहेको छ ।

शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग जसरी समन्वय गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो सुनिन्छ, मन्त्रालय चुकेकै हो त ?

यसमा यस्तो भयो, अहिले कोरोना कहर छ । शिक्षा मन्त्रालयले समन्वय नै गरेन भन्ने होइन । हामीले सकभर सबैसँग कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौ । फेरी यो बेलाको अवस्था अलि जटिल भइदियो । समूहमा काम गर्न नसकिने अवस्थामा हामीलाई पनि निकै अप्ठ्यारो भइरहेको छ । समन्वयमा कमि भएको होला । नगरेको भन्ने होइन । हामी सबैको गुनासोहरुको सम्बोधन गर्न तयार छौ ।