पोर्न भिडियो सेयर गरेको आरोपमा १२ नेपाली पक्राउ

असोज १४,काठमाण्डौं- मकाउमा एक बालिकाको पोर्न भिडियो सेयर गरेको आरोपमा फेरि १२ जना नेपाली पक्राउ परेका छन् । यसअघि सोही आरोपमा ११ जना नेपाली पक्राउ परेका थिए ।

सोमबार काम गरिरहेको होटल र कोठा कोठा पुगेर उनीहरूलाई पक्राउ गरेको र बयान लिएर तारेखमा छाडेको प्रहरी अधिकारीले जनाएका छन् ।

पुरुषले एक बालिकासँग यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो भिडियो आफ्ना साथी र अरुलाई पनि फेसबुक म्यासेन्जरबाट सेयर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

बालिकाको यौन भिडियो सेयर गरेको आरोपमा मकाउमा नेपाली पक्राउ परेको यो तेस्रो पटक हो ।

एक महिनाअघि भदौमा यही आरोपमा पक्राउ परेका ११ जना अझै तारेख धाइरहेका छन् भने छुट्टै पक्राउ परेका दुई जना पनि कानुनी कारबाहीको दायरामा छन् ।

भदौमा पक्राउ परेका ११ जनालाई चार दिन थुनामा राखेर छोडिएको थियो । अहिलेसम्म यो आरोपमा पक्राउ परेका २५ जना सबै २१ देखि ४७ वर्ष उमेरका छन् -एजेन्सी