ड्रग्स प्रकरणमा जफत गरियो दीपिका, सारा र श्रद्धाको फोन

असोज १२, काठमाडौ – एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लामो समयसम्म सोधपुछ गरेको छ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन् । सोधपुछ पश्चात् शनिवार एनसीबीले दीपिका, सारा र श्रद्धाको मोबाइल फोन नियन्त्रणमा लिइएको छ । उनीहरूका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ । एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिने बताइएको छ । एनसीबीले दीपिकासँग साढे ५ घण्टा सोधपुछ गरेको थियो । सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन् ।

उनले लागु औषध सेवन, खरिद(बिक्रीमा भने संलग्न नभएको बताएकी छिन् । उनले आफूले चुरोट चाहिँ सेवन गर्ने खुलाएकी छिन् । यस्तै एनसीबीले सारा अली खानसँग चार घण्टा सोधपुछ गरेको थियो । साराले लागु औषध कहिल्यै नलिएको तर चुरोट भने तान्ने गरेको स्विकारेकी छिन् । अभिनेत्री श्रद्धा कपुरले पनि लागु औषध प्रयोग गर्ने कुरालाई नकारेकी छिन् ।यसै क्रममा एनसिबीले करण जोहरको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेको छ । एजेन्सी