वन्यजन्तु तस्कर सक्रिय हुने सम्भावना, दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

नारायण अधिकारी

असोज ६, चितवन – (मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएपछि एक सिङ्गे गैँडा संरक्षण कार्य चुनौतीपूर्ण बन्न थालेको हो। उनी भन्छन्, ’निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको छ।

बरालका भनाईमा, मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्नेछ। ‘गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको छ’ बराल भन्छन्, ‘ अतिक्रमण गर्नेहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रित हुनुपर्दा संरक्षणमा चुनौती थपिएको छ।’

उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सहयोग पुग्ने बताउँछन् बराल। राजनीतिकरुपमा जनाइने प्रतिबद्दतालाई व्यवहारमा रुपान्तरण नहुँदा संरक्षणमा थप जटिलता आएको बताउने बराल जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको ठान्छन्। उनी भन्छन्, ‘यसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता छ।’

लामो समय गैँडा संरक्षणमा खर्चिनुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर तथ्याङ्कले विगतको इतिहासलाई हेर्दा प्रत्येक १०–१० वर्षमा चोरी शिकारी बढ्ने गरेको देखाएको बताउँछन। कुँवरका अनुसार सन् १९७० देखि ८० को दशक चोरी शिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी शिकार बढी भएको देखिन्छ। उनी थप्छन्, ‘८० को दशकमा चोरी शिकार बढेको थियो, तर ९० दशकमा घट्यो। सन् २००० को दशकमा बढेकोमा सन् २०१० को दशकमा कमी आउन थाल्यो। सन् २०२० को दशक चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत हुनुपर्छ।’

तस्करहरुले निकुञ्ज सुरक्षा व्यवस्थाको रणनीतिका बारेमा थाहा पाइसकेकाले नयाँ रणनीतिका साथ आउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् कुँवर। सरकारी निकाय सुस्ताउँदै गर्दा तस्कर सक्रिय हुने गरेको तथ्यलाई ख्याल गर्दै काम उनको सुझाव छ। ‘यो दशकमा गैँडा जोगाउन सरकारी निकायले जनता, सञ्चारमाध्यमलगायत सरोकार निकायसँग सहकार्य गरेर समयमै अघि बढ्नु पर्छ’ उनी भन्छन्, ‘उनीहरु नयाँ ढङ्गले आउन सक्छन्।’

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना सबैको साथ र सहयोग बिना गैँडा संरक्षण सम्भव नहुने बताउँछन्। राजनीतिक तहमा नेतृत्व र जनप्रतिनिधि रहेका सबैलाई संरक्षणको बारेमा बुझाएर आम जनतालाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने ढुङ्गानाको भनाइ छ।

पहिलो प्राथमिकता मानिस हो भने वन्यजन्तुका कारण मानिसले पाएका लाभ र यसको अन्तर्राष्ट्रिय महत्वका विषयमा पनि नजरअन्दाज गर्न नमिल्ने बताउँदै उनी भन्छन्, ‘वन्यजन्तुका कारण आहार मात्रै होइन, राहत पनि पाएका छौँ।’ आर्थिक अभावका कारण चोरी शिकारमा निम्न वर्गलाई प्रयोग गरिएको भन्दै उनले त्यो वर्गको आर्थिक उत्थानमा लाग्नुपर्नेमा जोड दिए।

माओवादी सशस्त्र द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी चोरी शिकारी भएको थियो। सन् २००२ मा एकै वर्षमा सबैभन्दा बढी ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए ।पछिल्ला वर्षहरुमा चोरी शिकारीको सङ्ख्या घट्दै आएको भए पनि चुनौती भने यथावत रहेको छ। झण्डै चार वर्ष पछि गत भदौ २३ गते तस्करले गैँडा मारेका थिए । उक्त घटनापछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ।

गैँडा मारेको मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना वा दुबै हुने व्यवस्था छ। संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन्। तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायत ठाउँका हुन्। अरु मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ।

यसअघि गैँडा मारेको अभियोग लागेर कारागारमा लागेका पछिल्ला दिनहरुमा छुट्ने क्रम बढ्दो छ। उनीहरु पुनः सक्रिय हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। यससँगै संरक्षणका लागि निकुञ्जले घाँसे मैदान र पानीको व्यवस्थापन गरिरहेको छ।

सन् २०१५ मा गणना गर्दा नेपालमा ६ सय ४५ गैँडा रहेकोमा यस निकुञ्जमा ६०५ गैँडा रहेका थिए। गत आर्थिक वर्षमा पुनः गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण रोकिएको छ। विसं २०७४ को बाढीमा राप्ती र नारायणी नदीले गैँडा बगाएर भारत पुर्याएका थिए। केही उद्धार गरी ल्याइएको भए पनि बाढीले कति बगायो भन्ने यकिन हुन सकेको छैन।