वीर अब कोभिड अस्पताल

भदौ २१, काठमाडौ – सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पताल रहेका छन् । ति अस्पतालमा कोभिड–१९ वाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ति स्वयंसेवकले कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए ।