डाक्टर श्याम विक भन्छन्– ‘रेम्डेसिभिर कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखियो’

 

भदौ २१, बाँके-  कोरोना संक्रमितको उपचारमा अहिलेसम्म प्रभावकारी हुने सङ्केत देखाएको एउटै औषधि ‘रेम्डेसिभिर’ हो । यो भाइरसविरुद्धको औषधी सुरुमा इबोलाको उपचारका लागि विकास गरिएको थियो । यद्यपी कोरोना उपचारको लागि अरू विकल्पभन्दा यो बढी प्रभावकारी देखिएको छ । डब्ल्यूएचओको सोलिड्यारटी ट्रायलमा रहेको चार औषधी मध्ये यो पनि हो । यस्तै नेपाल सरकारले समेत यस औषधिको ट्रायल रिसर्चको लागि अनुमति दिएको छ । देशका विभिन्न अस्पतालमा अहिले यसको प्रयोग भइरहेको छ । ‘रेम्डेसिभिर’ अहिले सम्मको अध्ययनमा कत्तिको उपयोगि छ ? यसले कोरोना संक्रमितकलाई निको पार्न कस्तो भूमिका खेलिरहेको छ ? र, यसले संक्रमितको मृत्युदर घटाउन कत्तिको सहयोग गर्ला ? भन्ने विषयमा बाँके स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मेडिसिन विभागका ऐसिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ फिजिसियन डा. श्याम विकसँग इमेल खवर डटकमले गरेको कुराकानीको सम्पादित अशं ।

१. ‘रेम्डेसिभिर’ भनेको के हो ?

‘रेम्डेसिभिर’ भनेको कोरोनाको उपचारको लागि हाल प्रयोग गरिएको एक प्रकारको औषधीको हो । यो एन्टि भाइरल औषधी समेत हो । यो औषधीको पछिल्लो समय विश्वका धेरै देशमा प्रयोगमा आएको छ । यो कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको अवस्था छ । नेपाल सरकारले समेत यसको ट्रायलको लागि अनुमति प्रदान गरेको छ । मध्य तथा सुदूर पश्चिम क्षेत्रमा भने पहिलो पटक शिक्षण अस्पताल कोहलपुरमा प्रयोग गरिएको छ ।

२. कोहलपुरमा समेत कोरोना संक्रमितमा यसको प्रयोग गरिएको छ, यसको नतिजा कस्तो आइरहेको छ ?

पक्कै पनि हामी कोरोना कहरको बीचमा छौ । विश्वमा कोरोना संक्रमण विरुद्ध विभिन्न खोप र औषधीहरुको अनुसन्धान र प्रयोग भइरहेको अवस्था छ । ती मध्ये ‘रेम्डेसिभिर’ पनि एक हो । यो नेपालमा समेत प्रयोग भइसकेको छ । हामीले पनि ४ दिन अघि एक संक्रमितमा यसको प्रयोग गरेका थियौ । जुन एकदमै सकारात्मक प्रभाव देखिएको छ । ‘रेम्डेसिभिर’ औषधीले हामीलाई निकै आशाबादी बनाएको छ । यो अहिले पनि अनुसन्धान कै क्रममा रहेकोले पूर्ण रुपमा संक्रमितलाई केन्द्रीत गरेर प्रयोग गर्नको लागि केही समय लाग्ला । अहिले चाँहि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यसको अनुसन्धान गरिरहेको छ । अनुसन्धान कै क्रममा हामीले प्रयोग गरेको हो ।

३. अहिले सम्म ‘रेम्डेसिभिर’ कति जनालाई प्रयोग गर्नुभयो ?

पहिलो संक्रमितलाई हामीले ‘रेम्डेसिभिर’ प्रयोग गरेको ४ दिन पुगेको छ । उहाँलाई अहिले सम्म चार पटक औष्ािध प्रयोग गरेका छौ । उहाँमा निकै राम्रो परिवर्तन देखिएको छ । चार दिन अघि उहाँमा स्वासप्रस्वासको समस्या थियो । अहिले उहाँ हिड्न सक्ने हुनु भएको छ । यो औषधी कोरोनाको गम्भीर लक्षण देखिएका र भेन्टिलेटरमा नरहेकालाई पाँच दिन र कोरोनाको गम्भीर लक्षण देखिएका र भेन्टिलेटरमा राखिएका व्यक्तिलाई १० दिन प्रयोग गरिन्छ । थप दुई जनालाई पनि यो औषधि प्रयोग गरिएको छ ।

४.‘रेम्डेसिभिर’ कोरोना संक्रमितको मृत्युदरमा कमी ल्याउनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?

हो, धेरैजसो बिरामीहरुको मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टी भएको छ । यहाँ मृत्यु भएका संक्रमितहरु विभिन्न जिल्लाका हुनुहुन्छ । यसको एउटा कारण समय मै कोरोना परिक्षणको रिपोर्ट नआउनु पनि हो । अब हामीले यहाँको प्रशासनसँग बिरामी भएर अस्पतालमा भर्ना भएकाहरुको कोरोना रिपोर्ट एकैदिनमा आयो भने निकै सजिलो हुन्छ । जहाँ सम्म कोरोना संक्रमितको मृत्युदरको कुरा छ । अहिले सम्म यहाँका मृत्यु भएकाहरुमा दीर्घकालिन रोग देखिएको छ । कसैलाई मृत्यु पछि रिपोर्ट आएको छ भने कसैको रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको छ । अहिले हामीले प्रयोग गरिरहेको ‘रेम्डेसिभिर’ औषधिले पनि काम गरिरहेको छ । भेष्टिलेटरमा रहेका बिरामी हिडडुल गर्न सक्ने भएका छन् । थप व्यक्तिहरुमा पनि प्रयोग भएका कारण प्रभावकारी देखिएमा मृत्युदर घटाउन सक्छ ।

५.अहिले मेडिकल कलेजमा कति जना कोरोना संक्रमितको उपचारर भइरहेको छ ?

अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये ११ जनालाई आइसियूमा राखिएको छ । अन्य चाँहि सामान्य वार्डमा उपचाररत हुनुहुन्छ । एक जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उहाँका अर्घाखाँचीबाट आउनु भएको संक्रमित हो । उहाँको फोक्सोमा रगत जमेको छ । कोरोना समेत पोजेटिभ थियो । अहिले भने नेगेटिभ देखिएको छ ।

६. अन्त्यमा कोरोनाप्रति हेर्ने आम नजर फरक छ, आम नागरिकलाई यस बारे के भन्नुुहुन्छ ?

अहिले कोरोना प्रति आम नागरिकमा जुन प्रकारको नकरात्मक सोचाइ छ, त्यो मानिसमा रहेको मनोवैज्ञानिक समस्या मात्र हो । कोरोना ठूलो केही होइन । यो त मानिसहरुमा छिटो संक्रमण हुने भाइरस हो । हामी चाहिने भन्दा पनि वढी यसबाट चिन्तित भइरहेका छौ । कोरोना भएको मानिस समुदायमा आयो भने उस प्रति हेर्ने नजर अहिले पनि बिलकुल फरक छ । घृणा गरिन्छ । यो मानवीय धर्म होइन । स्वास्थ्यकर्मी माथि हुने दुव्यर्वहारले राम्रो गरिरहेको छैन । सबैलाई मेरो अनुरोध छ । कोरोनाबाट सबै सजक बनौ । कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई सम्मान गरौ ।