प्युठानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

भदौ १८, प्युठान-प्युठानमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ बर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बुधबार राती बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा गएराती साढे दशबजे उनको मृत्यु भएको हो ।

कलेजो, मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारकालागि बुटवल गएका उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई भदौ १५ गते पिसिआर परिक्षण गर्दा पोजेटिभ नतिजा देखिएको कार्यालयका प्रमुख विशाल सुबेदी बताउँछन् ।

यो सङ्गै प्युठानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

यसअघि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ कै ६४ बर्षिय एक पुरुषको कोरोना बिषेश अस्पताल बुटवलमा मृत्यु भएको थियो ।