आऔं सँगै उभियौं

कविता

आऔं सँगै उभियौं
म उभिएको छु
र उ पनि उभिएको छ
अरु थाकेको बेला
कोही ढलेको बेला
केही लत्रेको बेला
उभिन खोज्नेलाई खहरेले लतारेको बेला
र उभिन सक्नेलाई अहंकारले न्याकेको बेला

म ठिङ्ग उभिएको छु
र उ पनि ठिङ्ग उभिएको छ
गणतन्त्र लत्रेको बेला
लोकतन्त्र थाकेको बेला
न्याय निहुरिएको बेला
मनवता ढुनमुनाएको बेला
आशा चिप्लिएको बेला
विश्वास डुबेको बेला
प्रेम बगाइएको बेला
अनि सपना ढलेको बेला

म सिधा उभिएको छु
र उ पनि सिधा उभिएको छ
चेतनाको जग हल्लिएको बेला
शिक्षाको कंकाल गलेको बेला
दर्शनको उकेरा भासिएको बेला
संघर्षको टेको होचिएको बेला

आऔं सँगै उभियौं
म र उ जस्तै
कहिले काठमाडौको मण्डेलामा
कहिले रुकुमको सोतीमा
कहिले धनुषाको सवैलामा
र कहिले रुपन्देहीको देवदहमा
जहाँ जति बेला खाचो छ

किन न कि
आज हामी एक भएर उभिन सक्यौं भने
भोलि हिड्न सक्नेछौं

पर्सी कुद्न सक्नेछौं
र एक दिन उड्न सक्नेछौं
संर्घषको जंघार तर्नको लागि
विभेदको पर्खाल नाघ्नको लागि
प्रिवर्तनको शिखर चुम्नको लागि
न्यायको पहाड चढ्नको लागि
र मानवताको उडान भर्नको लागि

  • राम नेपाली