धादिङवेसीमा १ साता निषेधाज्ञा

साउन २९,धादिङ – जिल्ला प्रशासन कार्यलय धादिङले १ साताका लागि जिल्ला सदरमुकाम धादिङवेसीमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी ३ भदौको मध्यरात निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्रहरू तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा लागू गरिएको कार्यालयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार धादिङवेशी आसपासका स्थानीय होटल व्यवसायी, सवारी चालक, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत् प्रहरी अधिकृतमा समेत कोरोना संक्रमण देखिएको छ । समुदायमा फैलिन नदिनका लागि साताव्यापी निषेधाज्ञा जारी गरिएको कार्यालयले जनाएको छ ।