वाग्मती प्रदेश सरकारद्वारा स्थानीय तहलाई सहयोग गर्ने

साउन २६, काठमाडौ – वाग्मती प्रदेश सरकारले बाढीपहिराबाट क्षति पुगेका स्थानीय तहलाई राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशको  विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुए ।

समितिको निर्णयअनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई रु ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई  २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाला १५ लाख र बाह्रबिसे नगरपालिकालाई थप रु १५ लाख, दोलखाको गौरीशङ्कर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई रु १५ लाख र बिगु गाउँपालिकालाई  १५ लाख रकम उपलब्ध गराउने निर्णय गरिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्मालगायत सहभागी थिए । रासस