नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीम

साउन २४, काठमाडौ – नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ । प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो ।

सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टरलगायतका सामग्री सहयोग गरेको थियो । सोही सामग्रीको प्रयोग गरेर शिक्षक शिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोबाइल एप सम्बन्धमा सहजीकरण गरिने विद्यालयका कम्प्युटर शिक्षक दीपक पन्तले बताए । नमूना विद्यालयका रुपमा छनोट भएको विद्यालयले एक करोड ८७ लाख ६० हजार बजेट प्राप्त गरेको छ । सोही रकमबाट योजनाका आधारमा गुरुयोजनासहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा प्रदान गर्न आठ कोठे भवन निर्माण गरिएको र खेलकूद सञ्चालनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिए ।

तालीममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले हरेक शिक्षक अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए । नगरक्षेत्रभित्रका विद्यालयको प्रविधिमा खर्च गर्न सकिने गरी नगरसभाले ३५ लाख बजेट विनियोजन गरेको रेग्मीले जानकारी दिए । विद्यालयका अभिभावक शिक्षक सङ्घ अध्यक्ष सिर्जना तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताए ।