नेकपा अध्यक्षद्वयबीच पुन : छलफल

साउन १८, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा आज विचार माझ्ने गरी छलफल भएको छ ।

उनीहरुबीच केही दिनयता संवाद नभएको स्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सघन छलफल भएको हो । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ । स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ ।

भेटमा सहभागी नेता नेम्वाङका अनुसार संवादहीनता फुकेर अध्यक्षद्वयबीच स–सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले भने, “स्थिति सकारात्मक छ । सबै कोणबाट छलफल जारी रहेकाले टुङ्गोमा नपुगी केही भन्न सकिन्न । सोमबार पुनः बसेर थप छलफल हुने कुरा छ । दुई अध्यक्ष बसेर सहमति गर्नुको विकल्प छैन ।”

पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो ।
–––