मेलम्चीको पानी अब मंसिरमा आउने

साउन १६, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ ।

३० असारमा १ जनाको मृत्यु, १ बेपत्ता र २ जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप २ महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा २ महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप २ वटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यसकारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ ।

सुरुङ परीक्षण गर्न पानी पथान्तरण गरिएको बेला पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुस्केपछि अकस्मात् प्रवेशद्वार खुलेको थियो । नटबोल्टभन्दा पनि प्रवेश द्वार जडानमा त्रुटि भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले मङ्गलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई प्रतिवेदन बुझाएको छ ।