बढ्दै मानव बेचबिखनको जोखिम

साउन १५, काठमाडौ – आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बेचबिखन नियन्त्रण हुनसकेको छैन ।

यतिबेला कोभिड–१९ को प्रभावका कारण सबै क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी कम गर्न सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि उद्योग, व्यापार व्यवसाय सबै ठप्प भए । अहिले बन्दाबन्दी खुलेपनि अझै जनजीवन सहज हुनसकेको छैन । यही परिस्थितिको फाइदा उठाउँदै मानव बेचबिखनमा संंलग्नहरु फेरि सक्रिय हुन थालेको मानवअधिकारकर्मी बताउँछन् ।

मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाका अनुसार यो समयमा महिलासँगै बालबालिका पनि उत्तिकै जोखिममा छन् । गाउँ, टोलमा क्रियाशील दलालले निमुखा, अशिक्षित युवायुवतीलाई गरिबी, बेरोजगारी र दयनीय स्थितिको लाभ उठाउँदै विदेशमा राम्रो काम र दाम पाइने र जीवन सुखी हुने सपना देखाउने भएकाले सचेत हुनु आवश्यक छ । बन्दाबन्दीकै समयमा पनि भारतका विभिन्न स्थानबाट सात महिलाको उद्वार गरिएको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले बताइन् ।

गएको असार महिनामा चार महिलाको उद्वार गरिको थियो । बन्दाबन्दीमा रुपन्देहीका दुई, पाल्पा, काठमाडौँ, बाँके, मकवानपुरलगायतका जिल्लाका सात महिलाको सीमा क्षेत्र तथा भारतका विभिन्न स्थानबाट प्रहरीको सहयोगमा उद्वार गरी नेपाल ल्याइएको उनले बताइन् । एक ठाउँबाट अर्को स्थानसम्म जान नसकिने बन्दका वाबजुद मानव बेचविखनका घटना हुनु डरलाग्दो भएको माइती नेपालका प्रमुख क्षेत्री बताउँछिन् । “अब मानव बेचबिखनको झन् जोखिम छ, लामो समयको बन्दले आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै दलालहरु झन् सक्रिय हुँदैछन्”, उनले भनिन्, “अबको समयमा मानव बेचबिखनविरुद्ध झनै सचेतना आवश्यक छ ।” खुला सिमानाका कारण नेपालका महिला सजिलै भारत पुग्ने भएकाले अझै कडाइ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

माइती नेपाल भैरहवाका अनुसार आव २०७६÷७७ मा सीमाबाट १४३ महिलाको उद्वार गरिएको छ भने नौ जनाको भारतका विभिन्न स्थानबाट उद्वार गरी नेपाल ल्याइएको थियो । यो वर्ष मानव बेचबिखनसम्बन्धी तीनवटा मुद्दा दर्ता भए । यस्तै गत आव २०७५/७६ मा सीमा क्षेत्रबाट दुई सय ५३ र भारतका विभिन्न स्थानबाट ५० जनाको उद्वार गरी आफन्तको जिम्मा लगाइएको छ भने मानव बेचबिखनसम्बन्धी दुई मुद्दा दर्ता भएका थिए । आव २०७४/७५ मा सीमा क्षेत्रबाट २७२ महिलाको उद्वार गरिएको थियो भने १० जनालाई भारतका विभिन्न स्थानबाट उद्वार गरी आफन्तको जिम्मा लगाइको थियो । यो आवमा मानव बेचबिखनका १५ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

प्रदेश नं ५ को त्रिवर्षीय तथ्याङ्कलाई हेर्ने हो भने यो वर्ष मानव बेचविखन तथा ओसारपसारका घटनामा केही कमी आएको देखिएको छ । कोभिड–१९ को प्रभावका कारण नेपालमा गरिएको बन्दाबन्दीका कारण घटनामा कमी आएको प्रहरीको भनाइ छ । आव २०७६÷७७ मा मानव बेचविखन तथा ओसारपसारका ३० मुद्दा दर्ता भएको प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उनका अनुसार गत आव २०७५/७६ मा ४९ मुद्दा दर्ता भएका थिए । यस्तै आव २०७४/७५ मा पनि ४९ मुद्धा दर्ता भएका थिए ।

नेपालको संविधानले मानव बेचबिखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९ को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ । त्यसविपरीतका कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुने संवैधानिक ग्यारेन्टी गरिएको छ । त्यस्तै मानव बेचबिखन र ओसारपसार (नियन्त्रण) ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभविना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ । त्यस्तै कानूनले निर्धारण गरेको अवस्थामा बाहेक मानव अङ्ग निकाल्ने कार्य गरेमा पनि मानव बेचबिखन गरेको ठहरिने व्यवस्था छ । रासस