रिडी–रुद्रवेणी सडक अझै अवरुद्ध, ठूला सवारी साधन रिडी बजारमा अलपत्र

 

साउन १२, काठमाडौ – गुल्मीको रिडी–रुद्रवेणी सडक खण्ड तीन दिन देखि अवरुद्ध छ । उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ पुलक्याम्प नजिकै सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि शनिबार अपराह्नदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको हो । सडक अझै सम्म पनि सुचारु हुन सकेको छैन ।

सडक पुनःसञ्चालन गर्न आइतबार बिहानदेखि ब्रेकर र लोडरको सहायताले सडकमा खसेको चट्टान फोर्ने र पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक शालीकराम थापाले जानकारी वताएका छन। सडक अवरुद्ध बनेपछि केही साना सवारी साधन भने वैकल्पिक मार्गका रूपमा रिडी–गौँडाकोट हुँदै मजुवा जाने गरेका छन् भने अन्य ठूला सवारी साधन रुद्रवेणी र रिडी बजारमा अलपत्र परेका छन् ।

सडक पुनः सञ्चालन गर्न आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन थप समस्या हुने बताइएको छ । पानी नपरेको खण्डमा बेलुकासम्ममा सडक सञ्चालन गर्न सकिने प्रहरी सहायक निरीक्षक थापाले संचार माध्यमलाई वताएका छन ।