चन्द्रागिरिमा ‘एक घर, एक धारा’

साउन ९, काठमाडौ –  चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई मनोसामाजिक परामर्श तथा सीपमूलक तालीम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख प्रमुख घनश्याम गिरील बताए । नगरपालिकाभित्र ज्येष्ठ नागरिक भवन निर्माण भइसकेको र ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनाको कार्यलाई समेत निरन्तरता दिइरहेको उनले जानकारी दिए ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्ता निःशुल्क गर्नुका साथै अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने नीति लिएको छ । यातायात कम्पनीको सहकार्यमा ज्येष्ठ नागरिकको लागि अधिकतम विशेष सहुलियत दरमा यातायात सुविधा उपलब्ध गराउन लाग्नुका साथै नगरपालिकाभित्रको सार्वजनिक पूर्वाधार अपाङ्गमैत्री बनाउन विशेष जोड दिने नगरपालिकाले जनाएको छ ।

दिगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ । नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि आर्थिक वर्ष २०७७/०७८ मा उक्त नीति अवलम्वन गरेको हो ।सरकारले लिएको शून्य फोहर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख गिरीले जानकारी दिए । आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारेको छ ।

जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ । यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ । उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ ।

मुख्य राजमार्ग र मुख्य चोकमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । नदी, खोला, सार्वजनिकस्थल, बाटो आदिलाई सबै प्रकारका फोहरमैला निषेधित क्षेत्र कायम गर्ने र सार्वजनिकस्थलमा प्रदूषण गर्ने कार्यलाई निषेधित गर्दै कानूनी दायरामा ल्याइने नगरपालिकाले जनाएको छ ।

बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनालाई चन्द्रागिरि नगरपालिकाभित्र विस्तार गर्नसमेत नगरपालिकाले पहल गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र विधिवत्रुपमा दर्ता भएका गैरनाफामूलक सञ्चालित खानेपानी उपभोक्ता समितिलाई प्राविधिक सहयोग नगरपालिकाबाट उपलब्ध गराउन लागिएको जानकारी दिए । खानेपानी उपभोक्ता समिति, खानेपानी व्यवसाय र पानी ट्याङ्कर व्यवसायलाई खानेपानी व्यवस्थापन ऐन बनाई सो ऐनअनुसार दर्ता, सञ्चालन, नियमन र कारवाही गरिने नगरपालिकाले जनाएको छ ।