तीन महिनाको विपद् : कूल १५५ को मृत्यु, ५२ बेपत्ता

साउन २, काठमाडौँ – मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । विपद्मा परेर कूल २४९ घाइते छन् । उनका अनुसार अहिले पनि उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनस्थापनको काम जारी छ ।

मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिराले पु¥याएको छ । प्राधिकरणबाट प्राप्त विवरणानुसार पहिरामा परेर कूल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । कूल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिए ।

सबैभन्दा बढी पहिरो गत जेठ ३१ पछि खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्याङ्क छ ।

उक्त अवधिमा पहिरामा परेर मात्रै १०० जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । यसपटक नसोचेको क्षेत्रमा पहिरो खस्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेकाले पनि बाढीपहिराका घटना बढेको तथा भूकम्पले असर गरेकाले पहिरो खसेको भूगर्भविद् शिवकुमार बाँस्कोटाले बताए ।

यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ । त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म २५० भन्दाबढी विपद्का घटना भएको विवरणमा उल्लेख छ । जेठ ३१ गते पर्वतको दुर्लुङमा पहिरो खसेको थियो । त्यसमा परेर नौ जनाले अकालमै ज्यान गुमाए । असार ८ गते पाल्कापो सम्बोबारीमा पहिरो खस्दा चार जनाको मृत्यु भयो । त्यस्तै बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा सात जनाको मृत्यु भएको थियो ।

असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाए भने अझै धेरै बेपत्ता छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकका बाह्रबीसे र भोटेकोशीमा बाढी पहिरामा परेर दुई जनाको मृत्यु भयो भने अझै २० जना हराइरहेका छन् ।

म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकामा बाढीपहिरो जाँदा २७ जनाको मृत्यु भयो भने चार जना अझै बेपत्ता छन् । यस्तै कास्की, जाजरकोट, लमजुङलगायत जिल्लामा पनि बाढी र पहिराले धनजनको क्षति पु¥याएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि पुनःन्यूनचापीय रेखा नेपाल नजीक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । उक्त मनसुन झण्डै चार दिन कायम रहने जनाइएको छ । रासस