नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ

असार २८, काठमाडौ – भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले आज अपराह्न पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । उनीहरुलाई शनिबार राति कनकाइ नगरपालिका–३ बाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् । शनिबार दिउँसो २ बजे खुर्सैद आलमले ५०० का भारतीय नोटको कारोवार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइराखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको जनाएको थियो ।

श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका चार र पाँच सयका ३३ थान गरी २० हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।रासस