कोरोना संक्रमणबाट थप ३ को मृत्यु

असार २७, काठमाडौं – कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।