एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेतृत्वलाई आग्रह

असार २७, काठमाडौं – स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधानमा दुवै अध्यक्षले आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने नेकपाका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताएका छन् ।

अध्यक्ष थापाले जनताको अभिमतको कदर गर्दै नेतृत्वले स्थायित्व तथा एकतालाई कायम राख्दै समृद्धिका बाटामा अघि बढ्नाको विकल्प नरहेकाले पार्टी नेतृत्वबीचको विवादको समाधान संवादबाट खोज्नु नै उत्तम विकल्प रहेको बताए ।

पार्टीमा देखिएको विवादका कारण युगौँदेखिको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि नै गम्भीर खतरामा पर्न सक्ने अवस्थालाई ध्यानमा राखी पार्टी र सरकारलाई थप एकताबद्ध बनाएर प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता भएकाले पार्टीको नेतृत्व तहमा रहनुभएका नेताहरूले गम्भीर समीक्षा र छलफलबाट विवादलाई अन्त्य गर्नुपर्नेमा थापाले जोड दिए ।

प्रधानमन्त्रीको अडान र दृढ सङ्कल्पका कारण वर्षौँदेखि मिचिएका कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई समेटेर नयाँ नक्शा जारी गर्ने क्रममा देखिएको राष्ट्रिय एकताका कारण प्रतिगामी तत्व आत्तिएका छन् भन्दै अध्यक्ष थापाले यस्तो अवस्थामा सबै दललाई एकताबद्ध बनाएर समृद्धिको यात्रामा हिँड्नुपर्नेमा नेकपा आफँै विवादमा अल्झिनु जनादेश विपरीत हुने भएकाले आफूहरूले नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिएको बताए ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीले पनि पार्टी एकतामा खलल पुग्ने कुनै पनि किसिमका निर्णय नगर्न नेतृत्वलाई आग्रह गरे । उनले जनभावनानुसार पार्टी एकता र स्थायित्व कायम गर्दै जनताको चाहनानुसारको काम गर्नुपर्ने समयमा पार्टीमा देखिएको विवादले कार्यकर्ता र जनतालाई दुःखी तुल्याएको बताउँदै एकता कायम गरेर अघि बढ्नुबाहेक नेतृत्वसँग अरू विकल्प नभएको बताए । सचिव चौधरीलेनेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लामो समयको अस्थिरताबाट मुक्त भइने जनताको आशामाथि भरोसा कायम राख्दै अघि बढ्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका ३६ प्रदेशसभा सदस्यले संसदीय दलको बैठकबाटै हस्ताक्षरसहित केही दिनअघि पार्टी एकता र स्थायित्व कायम गर्नुपर्ने जनाउँदै नेतृत्वलाई अनुरोध गरेका छन् । नेतृत्वलाई एकता कायम गर्दै लामो समयको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा तथा पार्टी एकता कायम राख्न आग्रह गरिएको थियो ।

पछिल्लो समय नेकपाको केन्द्रमा देखिएको विवाद कार्यकर्ता स्तरसम्म पुगेको र देशका विभिन्न स्थानमा पार्टी एकता कायम राख्दै स्थायी सरकार सञ्चालनका लागि विभिन्न ¥याली भइरहेका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ता तथा जनताको अभिमतको कदर गर्दै अघि बढ्नुपर्ने नेकपा कैलालीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा बताएका छन् ।

अहिले सरकार परिवर्तन र पार्टीमा विवाद गर्ने उपयुक्त समय नभएको जनाउँदै यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्नेमा थापाले जोड दिए । त्यस्तै सुदूरपश्चिम प्रदेशसभाका सदस्य अमरबहादुर साउद पनि अहिले विवाद र असहमतिभन्दा संवाद र सहकार्यबाट एकता जोगाई अघि बढ्नुपर्ने बताउछन् ।