अनलाइन प्रविधिबाट कार्यालय सञ्चालन

असार २४, काठमाडौं – सिरहाको विष्णुपुर गाउँपालिकाले आजदेखि अनलाइन प्रविधिबाट कार्यालय सञ्चालन शुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षबाट अनलाइन प्रणालीमार्फत राजश्वलगायत जिन्सीका कार्यहरु सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म पञ्जीकरण, मालपोत, पोखरी ठेक्का, नागरिकता सिफारिस, घरबाटो सिफारिसलगायत हरेक दस्तुर अनलाइनमार्फत वडा कार्यालयमै सङ्कलन गरिने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । कार्यालयको काम कारवाही पारदर्शी बनाउन र जनतालाई सहज सेवा उपलब्ध गराउन अनलाइन सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको विशेष पहलमा अनलाइन सेवा सञ्चालनमा ल्याइएको आईटी अफिसर शम्भु यादवले बताए ।रासस