अनशनरत युवा र मन्त्रालय बिच सहमति, कोभिड–१९ को पहिचानका लागि पिसिआर बिधि लागु हुने

असार २३, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोडेका छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।

विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ ।

सहमतिअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छाअनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला र आदेशबमोजिम परीक्षण तथा क्वारेन्टिनलगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृहमन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।