भदौ २८ सम्म शिक्षकहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने

असार २३, काठमाडौं – राष्ट्रिय शिक्षक किताबखाना (शिक्षक)ले आउँदो भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन शिक्षकहरूलाई आग्रह गरेको छ ।

मंगलबार सार्वजनिक सूचना निकालेर किताबखानाले सम्पत्तिको विवरण बुझाउन भनेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कितावखानाले जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिड–१९ को महामारीका कारण यसपटक सम्पत्ति विवरण बुझाउन शिक्षकले किताबखानामा उपस्थित हुनुपर्ने छैन । सूचनामा विद्यालय÷शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी एकमुस्ट १ साउन २०७७ देखि २८ भदौभित्र अनिवार्य रूपमा किताबखानामा प्राप्त हुनेगरी छिटो हुने माध्यमबाट पठाउन भनिएको छ । यसअघि सम्पत्ति विवरण दर्ताका लागि किताबखानामा उपस्थित हुनुपर्थ्यो ।

अध्ययन बिदा, असाधारण बिदा र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकको सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकाले म्यादभित्र सम्पत्ति विवरण बुझाउने दायित्व सम्बन्धित शिक्षककै हुने किताबखानाले जारी गरेको सूचनामा उल्लेख छ।