वाग्मती प्रदेशसभाः मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी

असार १७, काठमाडौं – वाग्मती प्रदेश सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल शुरु भएको छ ।

छलफलमा सत्तापक्षका सदस्यले सरकारद्वारा आगामी आव २०७७÷७८ का लागि ल्याइएको बजेट जनमुखी, उत्पादनमुखी र जनतालाई पूर्वाधार विकासमा दिगो लाभ पुग्ने खालको आएको बताउँदै कोभिड–१९ को चुनौतीलाई सामना गर्न सरकारले प्रदेशका १३ वटै जिल्लामा सुविधायुक्त अस्पतालको स्थापना गर्नुका साथै आइसोलेशन कक्ष र क्वारेन्टिनको पनि स्थानीय तहसम्म व्यवस्थापन मिलाउनुपर्ने र कोरोना सङ्क्रमणबाट प्रभावित हुने नागरिकलाई पीसीआर विधिबाट नमूना परीक्षण तीब्रता ल्याउन सरकारलाई आग्रह गरे ।

उनिहरुले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई उनीहरुको क्षमता र सीपको साथै रुचीका आधारमा कृषि उत्पादन, विद्युतीय सामग्री मर्मत सम्भारलगायत अन्य सीपमूलक रोजगारीमा लगाउनुपर्नेमा जोड दिए । उनिहरुले कृषि उत्पादनलाई वृद्धि गर्न आधुनिक प्रविधिका साथै बाँझो जग्गालाई सामूहिक खेती गर्नेतर्फ गुरुयोजना तर्जुमा गरी बजेट विनियोजन गर्नु पर्ने माग गर्दै राष्ट्रिय गौरवको आयोजना, पर्यटन क्षेत्रको विस्तार र उच्च शिक्षाको गुणस्तरलाई अघि बढाउन वाग्मती प्रदेशमा छुट्टै नयाँ विश्व विद्यालय स्थापना गर्नेतर्फ बजेट विनियोजन गरी कार्यान्वयन गर्न आग्रह गरे ।

यसैगरी बैठकमा प्रतिपक्ष दलका सदस्यले प्रस्तुत बजेट जनमुखी, व्यावहारिक र पारदर्शी हुन नसकेको, स्थानीय निकायबाट माग भई आएको विभिन्न विकासको पूर्वाधारको योजनालाई सम्मानपूर्वक वितरण नगरी केवल मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्रै एकै प्रकारको विभिन्न शीर्षकमा बजेट छुट्याइएकोमा गुनासो व्यक्त गर्दै प्रदेशका १३ वटै जिल्लामा कोभिड–१९ का कारण रोजगारीबाट वञ्चित भएका नागरिकलाई प्रत्यक्ष आर्थिक लाभ हुनेखालको योजनाहरुको प्याकेज वितरण गर्दा निष्पक्ष र पारदर्शीका साथ कार्यान्वयन पक्षमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गरे ।

सबै सदस्यलाई सम्मानजनक रुपमा व्यवहार गर्नुपर्ने बताउँदै आर्थिक समृद्धितर्फ जोड्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । छलफलमा भाग लिनुहुने सदस्यमा बद्रीप्रसाद मैनाली, राधा घले, डा राजाराम कार्की, केशव स्थापित, नरोत्तम वैद्य, गीता वाग्ले, कृष्णराज भँडेल, विजुला बर्मा, डा रामकुमार अधिकारी, भीमसेन खत्री, सरस्वती बस्नेत र जीवन डङ्गोल छन् ।

बैठकमा सभामुख सानुकमार श्रेष्ठले कृषि, स्वास्थ्य तथा शिक्षा समितिका सदस्य कृष्णप्रसाद खनाललाई प्रदेश मामिला समितिको सदस्यमा पदस्थापन गरिएको जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक असार १८ गते दिनको १ बजे बस्नेछ ।