क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

असार १७, काठमाडौं –सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा गुणराजअवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”

उनले १४ दिन क्वारेन्टिन बसेकालाई होम क्वारेन्टिन पठाएर आइसोलेसन बढाउन लागेको बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टिन र क्वारेन्टिनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उनिहरु समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, “लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ ।”