परिचयपत्र नपाउँदा मुक्तकम्लहरीलाई समस्या

असार १६, काठमाडौ – मुक्ति पाएको नौ वर्ष पुगिसक्दा पनि बर्दिया जिल्लामा मुक्तकम्लहरीहरु परिचयपत्र नपाउँदा शिक्षा लिन वञ्चित भएका छन् । सरकारले २०६७ असार १३ गते कम्लहरीमुक्त घोषणा गरेको  थियो ।

तत्कालै सरकारले शिक्षा र अन्य अवसरसहित पुनःस्थापनाका लागि मुक्तकम्लहरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । बर्दियामा परिचयपत्र वितरण गर्ने निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा मुक्तकम्लहरी समस्यामा परेका हुन् । मुक्तकम्लहरी विकास मञ्च बर्दियाको तथ्याङ्कानुसार बर्दिया जिल्लामा दुई हजार ४९५ मुक्तकमलहरी छन् । तीमध्ये मुक्तकम्लहरी छानबिन समितिले आठ सय जनालाई परिचयपत्र दिने निर्णय गरेको थियो । सोहीअनुसार १५८ जनाले मात्र परिचयपत्र पाउन सकेका छन् । पचियपत्र दिने निर्णय भइसकेकामध्ये ६४२ मुक्त कम्लहरीले अझै पाउन सकेका छैनन् ।

परिचयपत्र नहुँदा उनीहरु शिक्षा लिन तथा आर्थिक सहयोग, छात्रवृत्तिलगायत सुविधा पाउन वञ्चित हुनपरेको मञ्च बर्दियाका अध्यक्ष जुगरीकुमारी थारु बताउँछिन् । उनी अहिले स्नातक तह तेस्रो वर्ष अध्ययनरत छिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण ११ वर्षका उमेरदेखि उनी पाँच वर्ष कमलहरी बन्नुपरेको थियो ।

जिल्ला समन्वय समितिका संयोजक शंकरबहादुर थारुको अध्यक्षतामा मुक्तकम्लहरी पुनःस्थापना समितिको बैठकले परिचयपत्र दिने निर्णय गरेको थियो । मालपोत तथा भूमिसुधार कार्यालय गुलरियाका प्रमुख भीमबहादुर खत्रीले भूमिसुधार कार्यालयमा मुक्तकमलहरी दुई हजार पाँच सय दर्ता रहेको बताए । तीमध्ये १५८ जनाले परिचयपत्र पाइसकेको बताउँदै उनले बाँकी रहेकालाई निर्देशिका र कार्यविधिअनुसार गत चैत दोस्रो हप्तादेखि स्थानीय तहमार्फत वितरण गर्ने तयारी भए पनि लकडाउनका कारण स्थगन भएको प्रमुख खत्रीले बताए । उनका अनुसार वितरणका लागि सात सय परिचयपत्र छापिएर राखिएको र लकडाउन खुल्नेबित्तिकै वितरण गरिने छ ।रासस