राष्ट्रिय एकतामा जोड दिदै सकियो नेकपा बैठक

असार १३, काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा राष्ट्रिय सहमति कायम गरी नेपालको नक्सामा समावेश गरिएको भूमि कूटनीतिक माध्यममार्फत भारतसँग वार्ता गरी फिर्ता ल्याउनुपर्नेमा जोड दिइएको छ ।

बुधबारदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रियता, सार्वभौसत्ता, अखण्डताका विषयमा कोही कसैसँग सम्झौता हुनै नसक्ने र नेपालको भूमिमाथि कुनै पनि प्रकारको गतिविधि सह्य नहुने बताएका छन् ।

केही दिनअघि मात्रै सरकारले संविधान संशोधनमार्फत मिचिएको भूमिसमेत समावेश गरी अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमै समावेश गरिसकेको छ ।

‘संविधानले नै निदृष्ट गरेको नेपालको भूमिलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने विन्दुसम्म पु¥याउनुपर्छ भन्नेमा स्थायी कमिटी सदस्यहरुको जोड रह्यो’ बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा राखेका थिए ।

फाइल तस्बीर