रुकुम घटनाका घाइते भन्छन्,‘दोषीलाई कारवाही गरेको दिन शान्ती मिल्छ ’

असार ८, बांके– रुकुमको सोती  घटनामा घाइते भएकालाई कोहलपुर मेडिकल कलेज बांकेमा उपचार गरिएको छ । आक्रमणको क्रममा उनीहरु मध्ये अधिकांशलाई टाउकोमा प्रहार गरिएको हुदा चोट लागेको थियो । सामान्य उपचार जिल्ला अस्पताल जाजरकोटमै गरिएपछि सिटीस्क्यान सुविधा नभएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्नबाट बन्चीत भएका थिए ।

घाइते १२ जना मध्ये, १० जनालाई दलित संघर्ष समीति बांकेको आर्थिक सहयोगमा उपचार गर्न कोहलपुर मेडिकल कलेज झिकाइएको थियो । शुक्रबार अस्पताल भर्ना भएका घाइतेहरु शनिबार उपचार गरेर आइतबार घर फर्किएका छन् । घाइतेको समहुको नेतृत्व गरेर आएका लोकेन्द्र चन्दले घटना पछि घाइतेको उपचारमा कसैले खासै चासो नदिएको गुनासो गरे ।

टाउकोमा हतियार प्रहार गरिएकाले सिटिस्क्यान गर्न नपाउदा घाइतेहरु दुखि देखिन्थे । अहिले उपचार पछि ढुक्क भएको लोकेन्द्रले बताए । घाइतेको उपचारपछि दलित संघर्ष समीतिले कोहलपुरमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।

कार्यक्रममा उपस्थीत पुर्व मन्त्री दलबहादुर सुनारले रुकुम घटनामा घाइतेलाई राज्यले उपचार गर्नु पर्ने, क्षतिपुर्ति दिनु पर्ने, मृतकलाई सांस्कृतिक रुपमा सहिद घोषणा गर्नु पर्ने, नवराजकी प्रेमीका सुष्मा मल्लको स्वास्थ्य परिक्षण गरिनु पर्ने जस्ता माग सरकार समक्ष पटक पटक राख्दै आएको बताए ।

पत्रकार सम्मेलनमा घाइते युवाहरुले दोषिलाई छिटो भन्दा छिटो कारवाहि गरेपछि मात्रै आफ्नो मनमा शान्ती मिल्ने बताए । ‘दोषिलाई कानुनी कारवाही नभए हामी चुप लागि बस्दैनौं’, भन्दै सामुहिक रुपमा घाइतेले आवाज उठाएका थिए ।