अवैध काठसहित पक्राउ

 

असार ६, लाहान –प्रहरीको टोलीले अवैध साल जातको चिरान काठसहित सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बन्दीपुरका रामवृक्ष महतोको घरबाट अवैध काठसहित काठ उद्योग सञ्चालन गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ निवासी २४ वर्षीय रोशनकुमार महतोलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महतोको घरमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ६५.१७ क्यूबिकफिट सालको काठसहित उपकरण बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिए।
महतोको घरको कोठामा लुकाइ राखेको अवस्थामा ९० थान सालको चिरान, झ्यालको तयारी फ्रेम ३०३ थान बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

सोही क्रममा दुई थान मोटर, तीन थान रन्दा, प्वालपार्ने ग्रेन्डर दुई थान, आरा एक थान र आठ इन्च बेन्च ग्रिन्डर एक थानसहित नौ थानलगायतका उपकरणसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका काठसहित कामदारलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।