धुलिखेलद्वारा लकडाउन अवधिको कर छुट

असार ३, काठमाडौ धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो ।

पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनले भने, “लकडाउनमा व्यवसायी ठप्प भएकाले व्यवसायीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय ग¥यौँ ।” उनका अनुसार लकडाउन अघिसम्मको कर असार मसान्तसम्म तिर्न व्यवसायीलाई आग्रह गरिएको छ । “लकडाउनअघिको कर असार मसान्तसम्ममा तिर्न आग्रह गरेका छौँ, यस करमा पनि जरिवानासमेत मिनाहा गर्ने निर्णय भएको छ”, ब्याञ्जूले भने ।

यसैबीच नगरले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ६० वर्षमाथिका सबै दलित परिवारका सदस्यको रु ५० हजारसम्मको एकवर्षे निर्जिवन ‘कोरोना बीमा’ गर्ने निर्णय गरेको छ । नगरभित्र करिब एक हजार ५०० वृद्धवृद्धा रहेको नगरले जनाएको छ । ब्याञ्जूले भने, “वृद्धवृद्धा र दलित समुदायका तोकिएको उमेर समूहका लागि निर्जिवन बीमाका लागि छुट्टै कोष बनाइनेछ ।”

नगरको उक्त निर्णयले ठूलो राहत मिलेको होटल व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घले गत जेठ दोस्रो साता कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरबारे जानकारीसहित कर छुटलगातको माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । “स्थानीय सरकारले लकडाउन अवधिको कर छुट गरेकामा खुशी छौँ, धुलिखेल नगरलाई विशेष धन्यवाद दिन चाहन्छौँ”, सङ्घका अध्यक्ष प्रेमकण्ठ माकजूले भने ।

लकडाउनका कारण धुलिखेलको पर्यटन व्यवसायी निकै धरासायी बन्दै गएकाले बैंक ऋणको भाका तथा ब्याज मिनाहा र विद्युत् महसुल छुटका लागि आग्रह गर्दै आएको माकजूले बताए । उनका अनुसार सङ्घले पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयसमेतलाई राष्ट्र बैंकबाट सहुलियतमा ऋण उपलब्ध गराउन तथा लकडाउन अवधिको ब्याज मिनाहा, कर छुटलगायतको ज्ञापनपत्र बुझाइएको छ ।रासस