संविधान संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदै

जेठ ३१, काठमाडौं – भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।

प्रतिनिधिसभाको शनिबार १ बजे बस्ने बैठकमा सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित हुन लागेको हो ।

प्रतिनिधिसभाको शनिबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची मात्रै रहेको छ ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ । दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

संविधान संशोधन विधेयक पारित हुनका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षका अलवा प्रमुख प्रतिपक्षी काग्रेस र प्रतिपक्षीहरू समाजवादी पार्टी, राजपालगायतले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । अन्य साना दलहरूले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने भएका छन् ।