प्रदेश–२ मा  एक हजार ६०० कोरोना सङ्क्रमित

जेठ ३०,काठमाडौ प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए ।

यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् । त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

१७ जनाले जिते कोरोना

सप्तरी– कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीबार घर फर्किएका छन् । भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीबार साँझ बिदा भएका हुन् ।

हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताए । आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टिनमा गएको उनले बताए । आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उनले जानकारी दिए ।

रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एकरएक तथा सुरुङ्गाको क्वारेन्टिनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टिनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।

उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो । अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा जितेन्द्र यादवले बिदाइ गरे ।रासस