बन्दाबन्दी प्रभावितलाई राहत प्याकेजको माग

जेठ २८, काठमाडौं – कास्कीका पाँच राजनीतिक दलले लामो समयको बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारण एवम् किसानका लागि राहतका प्याकेज ल्याउन माग गरेको छ । आज पोखरामा सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको सर्वदीलय बैठकले कोरोनाको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनवटै तहका सरकार असफल बनेको निष्कर्ष निकाल्दै उक्त माग गरेका हुन् ।

लामो समयको बन्दाबन्दीका कारण गरिब तथा विपन्न वर्ग समस्यामा परेको भन्दै बैठकले उनीहरूलाई तत्काल राहत व्यवस्थापन, किसानका लागि राहत प्याकेज सहित एसइईलगायतका शैक्षिक गतिविधि सञ्चालन हुने वातावरण मिलाउन माग गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए । बैठकले कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि तत्काल उपयुक्त स्थान छनोट गर्न, विद्यालयलाई क्वारेन्टिन नबनाउन, राहत संकलन र वितरणको विवरण तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ ।

त्यस्तै बन्दाबन्दीका कारण व्यवसाय ठप्प भएको अवस्थामा सरकारले कर तिर्न गरेको आग्रह अव्यावहारिक भएको ठहर गर्दै बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्र अस्पताललाई कोरोना अस्पताल नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना परीक्षणको दायरा बढाउन र स्वास्थ्य सुरक्षा सामग्रीको खरिद विक्रीमा देखिएको मनोमानी र अनियमितता नियन्त्रण गर्न माग गर्दै बैठकले जनप्रतिनिधिकै रोहवरमा तरकारीजन्य उत्पादन नष्ट गरिएको घटनाको ध्यानाकर्षण सहित उत्पादित कृषिजन्य वस्तुको प्रवद्र्वन गर्न माग गरेको छ ।

राजधानीलगायत विभिन्न स्थानमा जनजीविका र राष्ट्रियताको पक्षमा गरिएको प्रदर्शनमा गरिएको हस्तक्षेपको निन्दा गर्दै रुकुमलगायतका स्थानका जातीय विभेदका घटनामा संलग्न दोषीलाई कारवाही गर्न पनि माग गरिएको छ ।

पोखराको सिर्जनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा सो पार्टीका अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, राप्रपा कास्कीका कार्यवाहक अध्यक्ष गणेश ढकाल, नेकपा मसाल कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका कोषाध्यक्ष राजु पुरी, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल र जनता समाजवादी पार्टी पोखरा महानगरका अध्यक्ष टिकाराम पौडेल सहभागी थिए ।