क्वारेन्टिनमा मनोसामाजिक परामर्श कक्षा

जेठ २७, काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा क्वारेन्टिनमा राखिएका अधिकांश व्यक्तिको तनाव कम गर्न मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्न थालिएको हो । बाहिरबाट आएका व्यक्तिहरु १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दा मानसिक समस्यामा छन् ।

क्वारेन्टिनमा राखिएका व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोसामाजिक परामर्शकर्ता लगेर भेटघाट गराएर सम्झाइबुझाई गर्ने गरिएको बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपियो नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए।

चन्दननाथ नगरपालिका–१ देखि १० वडासम्म क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन शुरु भइसकेको छ । प्रतिष्ठानका मनोचिकित्सक प्रवीण गिरीको संयोजकत्वको टोलीले क्वारेन्टिनमा मनोसामाजिक परामर्श दिन शुरु गरेको हो ।

चन्दननाथ–१ देखि १० मा निर्माण गरिएको क्वारेन्टिनमा ८३ पुरुष र १५ महिला गरी ९८ व्यक्ति बसेका छन् । उनीहरु नेपालका विभिन्न शहर तथा भारतबाट आएका हुन् । उनीहरुलाई नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

क्वारेन्टिनमा बस्नेको अवस्था बारेमा निरीक्षण गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा गिरीको भनाइ छ । सङ्कटमा बाध्यतावश क्वारेन्टिनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।

क्वारेन्टिनमा बस्ने व्यक्तिको सहजताका लागि विद्युत्, खानेपानी, इन्टरनेटलगायतको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । लकडाउनका कारण होम क्वारेन्टिनमा बसेका र सङ्क्रमणको आशङ्कामा अस्पताल वा सामुदायिक क्वारेन्टिनमा रहेकालाई मानसिक असर पुगेको छ । मनोचिकित्सक गिरीका अनुसार कोभिड–१९ सङ्क्रमणको त्रासले मानिसमा जतिखेरै डर, चिन्ता लाग्ने, भोक र निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनताजस्ता मनोसामाजिक समस्या भइरहेको छ ।

“यो समस्यालाई रोग भन्न सकिँदैन, समस्या बढ्दै गए यसले भविष्यमा अवसादलगायत गम्भीर खाले मानसिक रोगी बनाउँछ”, उनले भने । कोभिड–१९ नयाँ रोग भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन । मनोचिकित्सकले बिरामी हेरेको आधारमा मानसिक रोगका नयाँ बिरामी थपिने देखिन्छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपीओ नेपाल जुम्लाले जुम्लामा लकडाउनपछि कस्तो असर परेको छ भन्ने विषयमा सर्वेक्षण गर्न थालेको छ ।रासस