बन्दाबन्दी अवधीमा पनि रिडीमा तीनमुखे पुल बन्दै

जेठ २०, काठमाडौ – बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ ।

करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचाँै तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताए । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ ।

कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ ।

सङ्घीय सरकारको कुल रु नौ करोड ८८ लाख २६ हजार ३३२ लागतमा पुल निर्माण भइरहेको हो । नयाँ बाटो रुबिनामना जेभीले निर्माणको जिम्मा पाए पनि ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा पुल नै नबन्ने हो कि भन्ने चिन्तामा रहँदा निर्माण धमाधम भएपछि खुशी देखिएका छन् । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाउँपालिका, पाल्पा तानसेनको अर्गली र स्याङ्गजाको कारीकोट जोड्ने झोलुङ्गेपुल निर्माण हुँदा स्थानीय बासिन्दामा खुशी छाएको हो ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बन्ने तीनमुखे पुल नेपालकै नमूना बन्ने रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताए । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने उनको विश्वास छ ।

कालीगण्डकीको किनारबाट नै पाल्पा, गुल्मी र स्याङ्जा जोडिने पुल बनेपछि आवतजातमा सहज हुने स्थानीय बासिन्दा चूरामणि तिमिल्सेनाले बताए । धार्मिक पर्यटन गन्तव्यका रुपमा प्रख्यात रिडीमा पर्यटक आगमन बढ्दा समग्र यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने तिमिल्सेनाको जिकिर छ ।

विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको पुल निर्माण पक्षको लाहपरबाहीका कारण अलपत्र अवस्था रहेको थियो । परराष्ट्रमन्त्रीका सचिवालय सदस्य जंग नेपालीका अनुसार चुनाव जितेपछि अलपत्र पुल निर्माणले निरन्तरता पाएको छ । मन्त्रीको निर्देशनपछि तीनमुखे पुल निरन्तर रुपमा भइरहेको र यसै आव २०७६।०७७ मा काम सम्पन्न हुने नेपालीले बताए ।

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क विभागको सहयोगमा पुल निर्माण भइरहेको छ । कुल ५४० मिटर लम्बाइ रहने पुलका प्रत्येक तीन लुठ्ठाको लम्बाइ १८० मिटर हुनेछ ।

नेपालकै चार धाममध्ये९मुक्तिनाथ, बराह, देवघाट० रुरु एक हो । यस क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गर्ने चलन छ । रिडीस्थित शालिग्राम पाइने कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वास छ । रिडी पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलमा रुपमा परिचत छ । पाल्पाको अर्गलीतर्फको भागमा ऋषिकेश मन्दिर र गुल्मी जिल्लाको रिडीतर्फ रुरुकन्याको तपोभूमि रहेको पाइन्छ ।