आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुँदै कृषक

 

जेठ १६, गलेश्वर –  ‘बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक कृषि प्रविधि प्रयोग गर्न थालेका हुन् । खेतबारी जोत्न गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको बेनी नगरपालिका–२ बगरफाँटका किसान सागर खत्रीले बताए ।

‘अहिले खेतबारी जोत्न कामदार नै छैनन, लकडाउनका कारण भएका कामदार पनि आउँदैनन्, उनले भने  पछिल्लो समय जिल्लाका शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म खेतबारी जोत्न गोरुको सट्टा आधुनिक औजार (हाते ट्र्याक्टर, ट्र्याक्टर) प्रयोग हुन थालेको छ ।

गोरुले जोत्दाभन्दा आधुनिक औजार प्रयोग गर्दा सजिलो र काम छिटो हुने भएकाले धान रोप्ने, गहुँ काट्ने, गहुँ झाँट्नेलगायत मेसिनको प्रयोग हुन थालेको मल्लरानी मङ्गला गाउँपालिका–१ का तुलाराम सापकोटाले बताए ।

खेतबारी जोत्न आधुनिक प्रविधि आएपछि काममा सहज भएको र श्रम तथा लागत घटेको  बताए । पछिल्लो समय गाउँका युवा विदेशिँदा काम गर्ने मानिसको अभाव भएको र यसले हाते ट्र्याक्टरको प्रयोग बढेको उनको भनाइ छ ।

केही समययता केन्द्र प्रदेश सरकार र स्थानीय तहले आधुनिक औजारको प्रयोगमा प्रोत्साहन तथा अनुदानमा औजार दिन थालेपछि यसको प्रयोग बढ्दै गएको हो ।

म्याग्दीका स्थानीय तह, विभिन्न सङ्घसंस्था र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चापकटरलगायत कृषि औजार वितरण गरेका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेर व्यावसायिकीकरण गर्न थालेपछि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीतर्फ किसान अग्रसर हुन थालेका छन् ।

गतवर्ष जिल्लाका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारले ५० र ७५ प्रतिशत अनुदानमा म्याग्दीका १२७ कृषि समूहलाई कृषि औजार वितरण गरेका थिए । यस वर्ष पनि केही वितरण गरेको र बाँकीलाई वितरण गर्ने तयारी भइरहेको स्थानीय तहले जानकारी दिएका छन् ।

उत्पादन बढाउन तथा कृषिलाई व्यावसायिकीकरण गर्न परम्परागत तरिकाले खेतीपाती गरेर नहुने म्याग्दीका स्थानीय तहले बताएका छन् । कृषिमा आधुनिक औजारको प्रयोगले उत्पादनमा वृद्धि हुने तथा उत्पादन लागतमा कमी आउने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

रासस