‘मन्त्रीज्यू, बालमैत्री क्वारेन्टाइन केन्द्र हुनुपर्यो’

जेठ १३, काठमाडौँ- ‘मन्त्रीज्यू, यदि बालबालिकालाई कोभिड–१९ संक्रमण देखियो भने घरपरिवार छोडेर क्वारेन्टाइन केन्द्रमा बस्नुपर्छ, तर त्यो ठाउँ बालबालिकामैत्री छैनन्, त्यहाँ त्रास र चिन्तापूर्ण अवस्थाबाट गुज्रिनुपर्छ नि’ कोरोना संक्रमण दर उच्च देखिएको नेपालगञ्जकी १५ बर्षीया बालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई प्रश्न सोेधिन्।

जवाफमा मन्त्री गुरुङले प्रश्नकर्ता बालिकामार्फत् सबैलाई आश्वस्त पार्दै भने, ‘क्वारेन्टाइन केन्द्रहरु बालमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ, केन्द्रमा रहने संक्रमित बालबालिकाको मानसिक स्वास्थ्य र समग्र हितलाई असर नहोस् भनेर प्रयत्न गर्ने सबै बालबालिकाहरुलाई आश्वस्त पार्न चाहन्छु ।’

यो सवाल जवाफ सेभ दी चिल्ड्रेनको सहयोगमा सिआईएनले उत्पादन गरेको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रममा भएको हो । बालबालिकाका आवश्यकता र चुनौतीहरु सम्बोधनका लागि निर्वाचित जनप्रतिनिधि र नीति निर्माताहरुलाई थप जिम्मेवार बनाउन पैरवी गर्ने उद्देश्यले शुरु भएको बालबालिकासँग मन्त्री कार्यक्रमले यसअघि विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग बालबालिकाका सवाललाई जोड्ने प्रयत्न गरेको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई विद्यालयमा बनाइएका क्वारेन्टाइन केन्द्रका कारण त्रास बढ्न सक्ने भन्दै बालबालिकाले गुनासो गरेपछि विद्यालय सञ्चालन अघिदेखि नै निर्मलीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै, प्रदेश नं। २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले बालमैत्री दूरशिक्षाका साधनको अवलम्वन गर्दै सबैको पहुँचमा ध्यान पु¥याउने बताएका थिए।

सेभ दी चिल्ड्रेन नेपालकी आन्तरिक राष्ट्रिय निर्देशक बन्दना रिसालले वर्तमान संकटको रोकथाम, जोखिम न्यूनीकरण तथा सम्बोधन केन्द्रित विश्वव्यापी रणनीति अन्तर्गत रहेर कार्यक्रम गरिएको बताइन । उनले बालबालिकाको सिकाई, जीवन रक्षा, विद्यालय सुरक्षा, बालमैत्री वातावरण, सामाजिक सुरक्षा, खाद्य सुरक्षा र परिवार तथा समुदायबाट बालबालिकाको हेरचाह लगायतका विषयमा सम्पूर्ण सरोकारवालाहरुले ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा उठेका विषयवस्तु र प्रतिबद्धताको संगालो सम्बन्धित मन्त्रालयहरुमा बुझाईने सेभ दी चिल्ड्रेनले जानकारी दिएको छ ।