पोखरा महानगर- महिलालाई छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था

जेठ १२, काठमाडौ – पोखरा महानगरले कोरोना सङ्क्रमण रोकथामका लागि महिलालाई छुट्टै क्वारेन्टिन बनाउने भएको छ । पोखरा महागनर कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले महानगरका सवै वडामा क्वारेन्टिन निर्माण गर्ने र महिलाका लागि छुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय भएको महानगरका प्रवक्ता धन वहादुर नेपालीले इमेल खवर डटकमलाई जानकारी दिए ।

सबै वडाका वडाध्यक्षलाई ५० जना राख्न सकिने स्थानको छनोट गर्नका लागि पत्राचार गरिने र महिलाका लागि एउटा छुट्टै क्वारेन्टिन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टिन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको नेपालीले जानकारी दिए।

महानगरले हाल दुईवटा क्वारेन्टिन सञ्चालन गरेको छ । पोखराको मालेपाटनस्थित कृषिको छात्रावास र जाल्पारोडस्थित लेकसिटी रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टिन सञ्चालन गरेको छ । सङ्क्रमणको जोखिम बढ्दो देखिएकाले आगामी दिनमा थप व्यक्ति राख्नपर्ने अवस्थालाई ध्यान दिएर महानगरले क्वारेन्टिन निर्माण गर्न लागेको नेपालीको भनाई छ ।

नेपालीका अनुसार महिलाका लागि वेग्लै क्वारेन्टिन वनाउदा सहज हुने र सम्भावित हिंसा पनि रोकिने छ ।