ओपिडी सेवा बन्द हुने

जेठ १०, काठमाडौँ – हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ । सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो ।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेशनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए । यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना सङ्क्रमित महिलासंग विभिन्न चरणमा भेटभएका वा उहाँको उपचारमा संलग्नलगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेशनमा राख्ने काम भइरहेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौँडा–३ का एकजनामा काठमाडौँकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो ।