कोरोनासंक्रमितको मृत्यु पछि मदाने गाउँका अन्य पिसिआर रिपोर्ट पर्खदै

जेठ ८, काठमाडौ-  गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ ।

स्थानीय शिक्षक उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ । गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए । स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए ।
परीक्षणको दायरा बढाइने

स्वास्थ्य कार्यालयका अनुसार गाउँका ३० जनाको पिसिआर रिपोर्ट आज साँझसम्म आउँदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परीक्षणको दायरा बढाउने प्रमुख प्रशासकीय अधिृकत सुरेश भण्डारीले बताए । “कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योलमा छौँ”, उहाँले भन्नुभयो, “स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परीक्षणको दायरा बढाउने तयारीमा छौँ ।”

त्यसका लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघीय सरकारबाट आएकाले किटको अभाव नहुने उनले बताए । अहिले गाउँपालिकालाई पूर्ण रुपमा बन्द गरिएको छ । मानिसलाई घरबाहिर निस्कन तथा हिँडडुल गर्नलाई आजदेखि पूर्णरुपमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।रासस