बागलुङ जैमिनीका स्थानियले काठ बेचेर आम्दानी गर्न थाले

जेठ ८, काठमाडौ- प्राकृतिक स्वास्थ्य उत्पादनको पूरकका रूपमा प्रयोग हुँदै आएको खयरको औषधिजन्य गुणबारे जानकारी नुहँदा बागलुङको जैमिनी नगरपालिकाका किसानले यसलाई दाउराको रूपमा प्रयोग गर्दै आएका छन् ।

तर पछिल्लो समयमा खयरको काठ बेचेर राम्रो आम्दानी दिन थालेपछि यहाँका किसानले दाउराका रूपमा प्रयोग गर्दै आएको काठलाई व्यवस्थापन गर्न थालेका हुन् । जैमिनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा रहेका खयरको काठ कानूनी प्रक्रिया पूरा गरेर जिल्ला बाहिर निकासीको तयारी थालिएको छ । देशका ठूला शहरबाट व्यवसायी आएर खयरको काठ लैजाने तयारी थालेपछि आम्दानीको स्रोत बढ्नेमा त्यहाँका किसान आशावादी छन् ।

काठ किन्नेहरु गाउँमै आएकाले कानूनी प्रक्रियाको थालनी भएको जैमिनी नगरपालिका–७ जैदीका विष्णु ढुङ्गानाले बताए । केही वर्षअघिसम्म दाउराका रूपमा प्रयोग हुने खयरका काठ खोज्दै व्यापारी गाउँमै आउने गरेका छन् । गाउँमै व्यवसायी आएपछि जैदीका स्थानीयवासीले अनावश्यक जङ्गल बनेको खयर बिक्री गर्ने योजना बनाएको स्थानीय बद्री ढुङ्गानाले बताए । लकडाउनले बिक्रीको काम रोकेको जानकारी दिँदै उनले १० परिवारले काठ काटेर तयार पारेको र राम्रो मूल्य पर्ने भएकाले हौसिएको बताए ।

निजी वनमा लगाइएको काठ आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायीले लैजान्छु भनेपछि वडा कार्यालयको सिफारिसमा रुख काटेर किसानले काठ तयार पारेका छन् । नदी किनारमा रहेको वन क्षेत्रमा रहेको काठ बिक्रीका लागि किसानले डिभिजन वन कार्यालयमा निवेदन दिएको भए पनि लकडाउनका कारण स्थलगत अनुगमन गर्न नसकिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख रोमराज लामिछानेले बताए ।

वन कार्यालयले स्थलगत अनुगमन गरी अनुमति दिएपछि निजी वन क्षेत्रको रुख कटानी गर्न पाउने कानूनी व्यवस्था रहेको छ । व्यक्तिगत प्रयोजनका लागि काटिने रुखको स्थानीय करबाहेक केही तिर्नु पर्दैन भने व्यावसायिकरूपमा बिक्री वितरण गर्दा सरकारले तोकेबमोजिमको १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको लामिछानेले बताए ।

स्थानीयले रु ४० प्रतिकिलो काठ बिक्री गर्ने तयारीमा रहेको उनले बताए । प्रक्रिया राजश्व र ढुवानीसमेत घटाएर बजार भाउभन्दा कम मूल्य दिए पनि बिक्रीका लागि समस्या नरहेको ढुङ्गानाको भनाइ रहेको छ । यो वर्ष निजी वन रहेको जैदीका केही परिवारले १० टनसम्म काठ निकासी गर्न सकिने बताएका छन् ।

रङ बनाउन खयरको काठ बजारमा बिक्री हुने गरेको छ । जैमिनीबाट काठ निकासी हुन थालेको यो पहिलो घटना भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जनकारी दिए । निजी वन क्षेत्रको काठ वडाको सिफारिसमा आवश्यक प्रक्रिया पूरा गरेर बिक्री गर्न सकिने विधि बनाएको जनकारी दिँदै शर्माले काठ बिक्री हुन थालेको जानकारी नपाएको र वडामा जानकारी भएको हुनसक्ने बताए ।