यातायात व्यावसायीका लागि सरकारले दीर्घकालीन प्याकेज ल्याउनु पर्दछ– महासचिव सिटौला

काठमाडौ – कोरोना महामारीको प्रत्यक्ष असर यतिबेला यातायात ब्यबसायमा परेको छ । यो समयमा यातायातहरु ठप्प छन् । केहि मालबाहक यातायात सञ्चालनमा आएपनि यात्रुबाहक साधन भने सञ्चालनमा आउन सकेका छैनन् । यो अवस्था कहिले सम्म भोग्नु पर्ने हो भन्ने पनि थाहा छैन । यातायात क्षेत्र ठप्प भएकाले कर्मचारी र उनिहरुमा आश्रित करिब ५० लाख मानिसहरुमा समस्या परेको ब्यबसायीहरु बताउछन् । ब्यबसायीहरुका अनुसार कोरोना महामारीले सार्वजनिक यातायतको खर्बौ लगानी डुब्ने सम्भावना रहेको छ ।

कोरोना महामारीको समयमा यातायात क्षेत्रमा के कस्ता समस्या र चुनौती छन् ? ब्यबसायी र कर्मचारीहरुको अवस्था कस्तो छ ? सरकारबाट ब्यबसायीहरुको अपेक्षा के छ ? भन्ने सन्दर्भमा यातायात ब्यबसायी महासंघका महासचिव सरोज सिटौलासंग इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उनिसंग गरिएको कुराकानीको अंश ।

कोरोना महामारीले यातायात क्षेत्रमा कस्तो असर गरेको छ ?

अहिले कोरोना भाइरसका कारण सबैभन्दा असर गरेको क्षेत्र भनेको नै यातायात क्षेत्र हो । अहिले यातायात सेवा पुरै रुपमा ठप्प छ । केहि मालबाहक गाडी चले पनि यात्रुबाहक भने चल्न सकेका छैन । देशभरि लकडाउन छ । छोटो दुरीका यात्रुबाहक सवारी साधन पनि चलाउन सकिने अवस्था छैन । त्यसले गर्दा ब्यबसायी देखि कर्मचारीहरुको आम्दानी शुन्य छ । आम्दानी नहुदा करिब ४ लाख ब्यबसायी र ४५ लाख कर्मचारीहरु समस्या छन् । यातायात ब्यबसाय ८० प्रतिशत बैकिङ क्रणले चलेको छ । बैकले किस्ताको लागि ताकेता गरिरहेको छ । ब्यबसायीहरुलाई भने यतिबेला क्रण कसरी तिर्ने चिन्ताको बिषय बनेको छ ।

यातायात सेवा ठप्प छ । तर, बैंकहरुले ब्यबसायीहरुलाई किस्ताको लागि दिइरहेको दवावका कारण ब्यबसायीहरुको आक्रोश देखिन्छ नि ?

यातायात ब्यबसायमा अहिले करिब १० खर्व लगानी छ । मैले अघि नै भने ८० प्रतिशत क्रणमा छ । ब्यबसायीहरुले क्रण लिदै गाडी किन्दै ब्यबसाय सञ्चालन गरेका छन् । यातायात सञ्चालन गर्दै क्रण तिर्दै आइरहेका थिए । तर अहिले त्यो अवस्था छैन । क्रण संगसंगै ब्याज पनि बढ्दै गएको छ । यसरी हेर्दा यातायात क्षेत्रमा संकटकाल नै लागेको छ । अहिलेको अवस्थामा ब्यबसायीहरुले बैंकको क्रण तिर्ने अवस्था छैन । तर बैंकहरुले भने ब्यबसायीहरुको यस्तो समस्या बुझन सकेका छैनन । बैकहरुले यस्तो अवस्थामा पनि क्रण तिर्न ताकेता दिएका छन् । यस्तो अवस्थामा हामीले कसरी क्रण तिर्ने ?

लकडाउन खुलेपनि करिब ३ महिना यातायात सञ्चालन गर्न सक्दैनौ भन्नु भएको छ ? सञ्चालन गर्न नसक्नुका कारण चाहि के हुन ?

लकडाउन भएको करिब दुई महिना पुग्न लागेको छ । यो समय सम्म यातायातहरु थन्किएका छन् । लामो समयदेखि साधना थन्किएको हुदा इन्जिन बिग्रेका छन् । साधानहरुमा खिया लागेको छ । टायर बिग्रने र कुहिने समेत समस्या हुन्छ । यसले गर्दा सम्पुर्ण यातायातका साधनहरु रिपेयर गर्नुपर्दछ । यसकारण यस क्षेत्रमा झन खर्च बढ्छ । यसले गर्दा लकडाउन खुल्ने बित्तिकै यातायात सञ्चालनमा ल्याउन नसकिने अवस्था रहेको छ ।

अहिलकोे समयमा तपाईहरुले सरकारबाट कस्तो अपेक्षा राख्नु भएको छ ?

यातायात क्षेत्रमा सरकारले बिशेष सौलियत दिनु पर्ने हुन्छ । अबको आर्थिक बजेटमा यस क्षेत्रक लागि दीर्घकालीन प्याकेज ल्याउनु पर्दछ । ब्याज मिनाहाको ब्यवस्था गर्नुपर्दछ । लाइसेन्स र सवारी साधनको नवीकरण गर्दा जरिवाना छुट गर्ने ब्यवस्थ गर्न हामीले बारम्बार सरकारलाई भनिरहेका छौं । त्यस्तै यस अबधिमा बेरोजगार रहेका कर्मचारीहरुलाई पुन रोजगार दिलाउन पनि सरकारको ध्यान जानु पर्दछ ।