मेची क्याम्पसमा तीन सय बेडको क्वारेन्टाइन

बैशाख २९, काठमाडौ- भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउन साथ राख्नका लागि झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने हुँदा उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको छ । उनले भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति प्राप्त हुन साथ त्यही ल्याएर राखिने बताए।

नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा १०० वटा बेड तयार भइसकेको उनले बताए । “स्थानीय पालिकाहरुले बाहिरका मान्छे राख्न सक्दैनौँ भन्छन्”, उनले भने, “सङ्क्रमित छ या छैन जाँच नगरी टाढा पठाउन मिल्दैन । त्यही भएर छुट्टै राख्न क्वारेन्टाइन निर्माण गरिरहेका छौँ ।” तीन सय बेडको क्वारेन्टाइन तत्काल निर्माण गरिने र आवश्यक परे थप बेडको समेत व्यवस्था गरिने उनले बताए । यस अघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुलाई राखिएको छ ।

क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, म्याटे«स, तन्ना, माक्सलगायतका दुई दुई सयका दरले सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ । सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले आजै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सो सामग्री हस्तान्तरण गरेका हुन। झापाका १५ वटा पालिकामा स्कूल, सामुदायिक वन, स्वास्थ्य चौकीलगायतमा ७९२ जना अटाउने २७ वटा क्वारेन्टाइन छन् ।रासस