लकडाउनमा भूकम्पपीडितका घर ठडिए

बैशाख २५, गलेश्वर – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्पपीडितले घर निर्माण गरेका छन् ।

विसं २०७२ को महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका–२ बगरफाँटका ६ जना व्यक्तिले लकडाउन समयको सदुपयोग गरी निजी घर निर्माण गरेका हुन् । बेनी नगरपालिका–२ बगरफाँटका नरबहादुर कार्की, गोविन्दप्रसाद शर्मा, भीमबहादुर कार्की, धनबहादुर कार्की, धु्रवप्रसाद शर्मा र बेदप्रसाद उपाध्यायले जिल्ला आयोजना कार्यान्वय इकाइ पुनःनिर्माण प्राधिकरणको मापदण्डअनुसारका घर निर्माण गरेका हुन् ।

प्राधिकरण म्याग्दीका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार म्याग्दी जिल्लामा पछिल्लो समय भूकम्प प्रभावितको निजी आवास निर्माणको कामले तीव्रता पाएको छ । भूकम्पबाट प्रभावितमध्ये म्याग्दीमा ८८४ र छुट तथा पुनःसर्वेक्षणबाट १८० गरी कूल एक हजार ६४ जना लाभग्राही रहेका छन् । २०७२ सालको सर्वेक्षणबाट देखिएका ८८४ लाभग्राहीमध्ये हालसम्म ५१५ लाभग्राहीले घर निर्माण गरेर तेस्रो किस्ता रकम बुझिसकेका छन् । त्यसैगरी ५८४ जनाले दोस्रो र ८०१ जनाले पहिलो किस्ता लिएका छन् ।

छुट तथा पुनःसर्वेक्षणबाट देखिएका १८० भूकम्पपीडितमध्ये हालसम्म १४० जनाको सम्झौता भएर आएको र उनीहरुको आवास निर्माणको प्रक्रिया लकडाउन खुलेपछि शुरु हुने आयोजना प्रमुख रिजालले बताउनुभयो । प्रमुख रिजालका अनुसार म्याग्दीमा हालसम्म निजी आवस पुनःनिर्माणको ६४ प्रतिशत प्रगति भएको छ ।

घरबारविहीनलाई गाउँलेले बनाइदिए घर

त्यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् ।

लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् । आफन्तले उपलब्ध गराएको जग्गामा तीनकोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाइलाई सहयोग जुटाइरहेको बताए ।

लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु, श्रमदानसमेत गरेर घरवारविहीनको घर बनाउँदैछौँ”, उनले भने । लकडाउनको फुर्सदमा कुनै काम गर्ने योजना बनाइरहेको अवस्थामा एउटा मानवीय र परोपकारी कार्यमा समय दिन पाएको उनको भनाइ छ । ‛केहीदिनमै घर ठडिन्छ, लकडाउनले सिर्जनात्मक काम गर्नेलाई असर गरेको छैन’, उनले भने ।

श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने, ब्लक खरिदमा समेत सघाइरहेका छन् भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ ।

घर बनाउन अझै केही आर्थिक आवश्यकता रहेको खत्रीको भनाइ छ । चारजनाको परिवारलाई भान्सा कोठासहितको घर बनाउने अभियानमा स्थानीय युवाले समेत सघाइरहेका छन् । घर बनाउन करिब रु चार लाख खर्च हुने अनुमान गरिएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई संयोजक खत्रीले धन्यवाद दिएका छन् ।

रासस

फाइल तस्बीर